बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरूष क्रिकेटको सुदूरपश्चिम छनौट माघ २९ गते मंगलबारदेखि हुने भएको छ। कैलालीको धनगढीस्थित फाप्ला मैदानमा हुने प्रतियोगितामा प्रदेशका ९ वटै टोलीको सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो ।
सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा कैलाली, बाजुरा,अछाम,डोटी र बैतडी रहेका छन्। समूह बी मा कञ्चनपुर,बझाङ,डडेल्धुरा र दार्चुलालाई राखिएको छ। प्रतियोगिताको उद्घाटन खेलमा माघ २९ गते कैलाली र बाजुरा ,सोही दिन हुने अर्को खेलमा कञ्चनपुर र बझाङ खेल्नेछन्।
माघ ३० गते हुने खेलमा अछाम र डोटी तथा डडेल्धुरा र दार्चुला आमनेसामने हुनेछन्। फागुन १ गते बिहान बैतडीले कैलाली र बाजुरामध्ये विजेतासंग, दिउँसो कञ्चनपुर र बझाङको विजेता तथा डडेल्धुरा र दार्चुलाको विजेता टोली भिड्नेछन्।
फागुन २ गते समूह ए को विजेता र समूह बी को विजेताबीच फाइनल भिडन्त हुनेछ। प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।