डडेल्धुरा-डडेल्धुराको ऐतिहासिक अजयमेरु कोटमा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाइएको छ । बुधबार ‘अजयमेरु कोटको संरक्षण हाम्रो पहिचान, श्रमको सम्मान र राष्ट्रको अभियान’ भन्ने नाराका साथ दिवस मनाइँएको हो । सो अवसरमा कोटमा भइरहेको पुरातात्विक उत्खननबारे जानकारी पनि गराइएको छ ।
पुरातत्व विभागको टोली २३ दिनदेखि उत्खनन कार्यमा संलग्न रहेको र त्यसका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरी प्राविधिक सहयोग लिएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट विकासले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरु कोटजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा सबै तहका सरकारको ध्यान जानु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो ।
पुरातत्व अधिकृत भास्कर ज्ञवालीका अनुसार उत्खनन कार्यलाई थप सात दिन लम्ब्याइएको छ । उहाँले पूर्ण दरबार पुनर्निर्माण गर्ने होइन, बरु भग्नावशेष संरचनाहरूको नम्बरीङ गर्ने काम भइरहेको जानकारी दिनुभयो । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने जनाएको छ ।
जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा जिल्लाका सरकारी अधिकारी, राजनीतिक दलका नेता, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।