बैतडी-मेलौली नगरपालिकाले जनतासंग मेयर घुम्ती स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ९ वटै वडाका नागरिकलाई आइतबार देखि घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो।
स्वास्थ्य चेकजाँचका लागि आवश्यक पर्ने सामग्री औषधी समेत स्वास्थ्यकर्मीहरू लाई प्रदान गरि प्रत्येक वडाका गाउँघर क्लिनिक र खोप केन्द्र बाट कार्यक्रम सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।
उक्त कार्यक्रममा नागरिकलाई घरदैलोमा पुगेर ब्लड प्रेसर, सुगर,दम श्वासप्रश्वास,मधुमेह, उचाइ र तौल आधारमा बिएमआई मापन, पिसाव जाँच सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, औषधि वितरण सहित स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख भाटले जानकारी दिनुभयो ।

घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित वडाका महिला स्वंयम्सेविका समेत परिचालन गरिएको उनले बताउनुभयो ।
नगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र ११ र २८ गाउँघर क्लिनिक गरी स्वास्थ्य उपचार केन्द्र रहेका छन ।

यस्तै मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द भुकम्पलले यस्ता किसिमका स्वास्थ्य शिविर नगरपालिकाका ९ वटै वडामा संचालन गर्ने र स्वास्थ्य सेवालाई सवैको पहुँचमा पुर्याउने बताउनुभयो।
उनले ग्रामिण क्षेत्रका विपन्न, गरिव परिवारका महिलामा देखिएको पाठेघर खस्ने समस्या, जेष्ठ नागरिकहरुको मुटुको समस्या जस्ता रोगको निःशुल्क चेक जाँच गरिने र सामान्य स्वास्थ्योपचार बाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना नगर प्रमुख चन्दले बताउनुभयो ।

नगर प्रमुख चन्दले नगरपालिकाका सबै वडाहरुमा कार्यक्रम संचालन भईरहेकाले सेवा लिन नगरबासीलाई अनुरोध समेत गर्नुभयो ।
साथै नगरपािलकामा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान पनि सुरु गरिएको छ ।पालिकाका स्वास्थ्य संस्थाहरुले सो अभियानको थालनी गरेको जनाएका छन् ।

उक्त कार्यक्रम संगै जन्मदेखि २ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन गर्ने र उसको पोषणको अवस्थाबारे आमालाई जानकारी दिने, हजार दिनका आमालाई पोषण परामर्श र स्वास्थ्य शिक्षा दिने, घरायसी तथा व्यक्तिगत सरसफाइ, हात धुने, चर्पीको प्रयोग बारे स्वास्थ्य शिक्षा दिने कार्यक्रम पनि रहेको स्वास्थ्यमा शाखा सि.अ.न.मी निरिक्षक हरिना कुमारी भण्डारीले बताउनुभयो ।
