बैतडीबाट यस वर्षको एसइई परीक्षामा पाँच हजार ३ सय बढी विद्यार्थी

बैतडी-बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ । जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट पाँच हजार तीन सयभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने भएका छन्।
आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसइईका लागि नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो  ।
एसइईमा साधारणतर्फका नियमित दुई हजार ११५ छात्रा र एक हजार ९७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताउनुभयो ।
यस्तै, प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० जना छात्र गरेर दुई सय १६ जना परीक्षाथी सहभागी हुने सूचना अधिकारी उहाँले बताउनुभयो । यस्तै, पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने शर्माले बताउनुभयो ।
जिल्लामा यो वर्ष एसइई परीक्षा सञ्चालनका लागि २७ वटा केन्द्र निर्धारण गरिएका छन् । प्राविधिक धारतर्फको परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि जिल्ला सदरमुकाममै केन्द्र निर्धारण गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको परिपत्र अनुसार यो वर्ष थप दुई वटा केन्द्र निर्धारण गरिएका प्रमुख अवस्थीले बताउनुभयो  । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि विरेन्द्र मावि शाहीलेक (ख) र ग्रेड वृद्धिका लागि विरेन्द्र मावि शाहीलेक (ग) केन्द्र तोकिएको छ ।
जिल्ला भरीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइईमा सहभागिता जनाउने छन् ।
यस्तै, निङ्गलाशैनी मावि देहीमाण्डौं, कृष्ण मावि पाटन, सनातनधर्म मावि श्रीकोट, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा मेलौली, दुर्गा मावि खलिगाड, विजयपुर मावि तितावै, सेटीगाउँ मावि ककरपाखा, ज्ञानेश्वर मावि विजयपुर, कुलाउँ मावि कुलाउँ, मणिलेक मावि गुरुखोला र दुर्गा मावि सिमारलाई केन्द्र निर्धारण गरिएको छ ।
यस्तै, रौलेश्वर मावि रामकी बरायल, केदार नागार्जुन मावि बग्लेखान, खेती मावि तल्लादेही, शिक्षा केन्द्र अमर मावि धामीगाउँ, दशरथचन्द मावि सुन्दरखाली, लेकलुपुँड मावि गड, पहरौल मावि बागा, नेपाल राष्ट्रिय मावि ग्वानी, केदार मावि पिपलकोट, महेश्वरी मावि न्वाघर र नागार्जुन मावि शर्मालीलाई केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.