बैतडी: त्रिभुवन विश्वविद्यालय अन्र्तगतका बैतडीमा सातओटा क्याम्पस रहेका छन्। जसमध्ये पाँचओटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ। सार्वजनिक पाँच क्याम्पसको नतिजाअनुसार यहाँका तीन क्याम्पसमा अनेरास्ववियु र दुईमा नेविसंघका सभापति विजयी भएका छन्।
निर्वाचन सम्पन्न यहाँका क्याम्पसमा कतै तालमेल भयो भने कतै एक्लाएक्लै चुनावमा होमिए। दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघ तालमेल गरेर चुनावी मैदानमा उत्रिए भने अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा होमियो।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल अनेरास्ववियुका नवीन कपाडी नेतृत्वको प्यानलले यहाँ निर्वाचन जितेको छ। नवीनले १०० मत प्राप्त पर्दा अर्का सभापतिका उम्मेदवार बनेका अखिल क्रान्तिकारीका सुरेन्द्र कार्कीले ५५ मत ल्याउनुभएको क्याम्पस प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो।
सचिवमा अनेरास्ववियुकै नारायणप्रसाद अवस्थीले १०५ मत ल्याएर विजयी हुनुभयो। प्रतिस्प्रधि तुलसी जोशीले ४६ मत प्राप्त गर्नुभयो। कोषाध्यक्षमा नेविसंघका लक्ष्मी भट्ट १०० मत प्राप्त गरेर विजयी हुँदा अखिल क्रान्तिकारीका हेमन्ती जोशीले ४७ मत ल्याउनुभयो।
सदस्यहरुमा अनेरास्ववियुका यज्ञराज अवस्थी १०५,रेखा कार्की १०७,जयन्ती विष्ट १०७ र नेविसंघका मनिषा विष्ट १०४,भागरथी जोशीले १०२ मत ल्याएर विजयी हुनुभएको छ। निर्वाचनमा यस क्याम्पसमा १६५ मत खसेकोमा ८ मत बदर भएका निर्वाचन समितिले जनाएको छ।
शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा भने नेविसंघको पुरै प्यानलले बाजी मारेको छ। नेविसंघबाट सभापति उम्मेदवार बनेका कविता साउँद नेतृत्वको पूरै प्यानल विजयी भएको ग्राम प्रकाश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत मदनसिंह साउँदले जानकारी दिनुभयो।
सभापतिमा विजयी कविताले ३७ मत प्राप्त गर्दा अनेरास्ववियूबाट सभापतिका उम्म्ेदवार बनेका सरिता साउँदले २८ मत प्राप्त गर्नभयो। यस्तै नेविसंघबाटै सचिवमा विजयी अस्मिता महरले ३५ मत प्राप्त गर्नुभयो । अनेरास्ववियुका सचिवका उम्मेदवार विरेन्द्र साउँदले ३० मत ल्याउनुभयो।
कोषाध्यक्षमा पनि नेविसंघकै रतना साउँद ३५ मत ल्याएर विजयी हुनुभयो। अनेरास्ववियुका कोषाध्यक्षका उम्मेदवार कल्पना पार्कीले ३० मत पाउनुभयो। यस्तै सदस्यहरुमा पनि नेविसंघकै बाटिका साउँदले ३५,हिमा कलौनीले ३६, रुमला साउँदले ३८ मत प्राप्त परेर विजयी हासिल गर्नुभएको छ।
यसैबीच समानुपातिकतर्फ नेविसंघ ३३ मत ल्याउँदा अनेरास्ववियु २२ मत प्राप्त गर्यो। यस क्याम्पसमा अन्य विद्यार्थी संगठनले उम्मेदवारी दर्ता नै गराएका थिएनन्। ९५ जना मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा ६६ मत खसेकोमा १ मत बदर भएको थियो।
डिलाशैनी गाउँपालिकामा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका कृष्णसिंह रावलले बाजी मारेका छन्। सभापतिमा विजयी रावलले १ सय ३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत ल्याउनुभयो।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड १ सय ८ मत ल्याएर विजयी हुनुभयो भने अनेरास्ववियुकी पूजा खत्रीले ८९ प्राप्त गर्नुभयो। कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी १ सय १ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी भावना जोशीले ८८ मत मात्रै पाउनुभयो।
सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट ९८, उषा साउद १००, सन्तोषी खडायत १ सय ८ र हिरा गोयला १ सय ३ र अनेरास्ववियुकी सन्तोषी बिष्ट ९१ मत ल्याएर विजयी हुनुभयो। क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीका अनुसार यहाँ नेविसंघ र क्रान्तिकारी तालमेल गरेर निर्वाचन लडेका थिए भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो।
पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरुबीच सहमति गरेर सर्वसम्मत स्ववियु गठन गरिएको छ। सहमतीअनुसार १५ जनाको कार्यसमितिमा अनेरास्ववियुले अध्यक्षसहित ६ जना,नेविसंघले सचिवसहित ५ र अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्षसहित ४ जना लिएका क्याम्पस प्रमुख मोतीसिंह मंगोलाले जानकारी दिनुभयो।
सभापतिमा अनेरास्ववियुकी सपना चन्द निर्विरोध चयन हुनुभयो। उपाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी मनिसा साउँद ,सचिवमा नेपाल विद्यार्थी संघकी अस्मिता जोशी, सहसचिवमा अनेरास्ववियुकी ईश्वरी भट्ट र कोषाध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीकी लक्ष्मी चन्द निर्विरोध चयन हुनुभएको छ। यस्तै सदस्यमा अनेरास्ववियुकी बल्ली जोशी,इश्वरी भट्ट र मुना साउँद चयन भएका छन् । नेविसंघकी सुनिता चन्द, दिपा घटाल र अनेरास्ववियु क्रान्तिकारीकी एलीसा चन्द र जीवन घटाल पनि सदस्यमा चयन हुनुभयो।
समानुपातिक सदस्यतर्फ अनेरास्ववियुकी रमना चन्द र दिपा साउँद, नेविसंघकी प्रियंका मंगोला र गीता सार्की चयन भएका छन्। यहाँ ३०१ जना विद्यार्थी मतदाता रहेका थिए।
यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस साहिलेकको सभापतिमा अक्बर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन९अनेरास्ववियु० बाट उम्मेदवारी दिनुभएका चन्द निर्विरोध निर्वाचित हुनुभएको हो।
अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनका कसैको पनि उम्मेदवारी नपरेपछि चन्द प्यानल निर्वाचित भएको क्याम्पस प्रमुख कैलाशकुमार कनौजियाले जानकारी दिनुभयो। यस्तै उपसभापतिमा जनक नाथ,सचिवमा धिरज जोशी र कोषाध्यक्ष ममता टेलर तथा सहसचिवमा सन्तोष बोगटी निर्विरोध हुनुभएको छ।
सदस्यहरुमा हेमन्ती चन्द, मेघा बराल, चादनी वड, र पुनम पन्त पनि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्याम्पसमा १५५ मतदाता विद्यार्थी रहेका थिए।
यसैबीच पुर्चौडी बहुमुखी क्याम्पसमा बुधबार मात्रै स्ववियु निवाचन हुने भएको छ। विद्यार्थी संगठनहरुबीच सहमतिका लागि ढिलो निर्वाचन प्रक्रिया शुरु भएकाले क्याम्पस सञ्चालक समितिको बैठकले चैत ६ गते बुधबार स्ववियु निर्वाचन गर्ने निर्णय भएको निर्वाचन अधिकृत नवराज जोशीले बताउनुभयो। यस क्याम्पसमा चैत १ गते मनोनयन दर्ता भएकोमा स्ववियु नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरु छुट्टाछटुटै चुनावी मैदानमा रहेका छन्।
नेपाल विद्यार्थी संघले उत्तरा महरालाई स्ववियु सभापतिको उम्मेदवार बनाउँदै चुनावी मैदानमा उत्रेको छ भने अनेरास्ववियु विष्णुदत्र् अवस्थीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ। यस्तै अनेरास्ववियु क्रान्तिकारी गीता भण्डारीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ। यो क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका छन्।
उता सिगास गाउँपालिकामा रहेको सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया नै अघि बढ्न सकेको छैन्। स्ववियु निर्वाचनका बिषयमा विवाद हुँदा त्यहाँ प्रक्रिया अवरुद्ध भएको बताइएको छ।