बैतडी : डडेल्धुरामा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। जिल्लाको अजयमेरु गाउँपालिकाले १८ गतेदेखि कार्यालयबाट परिचयपत्र वितरण गर्ने भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा २०७७ सालमा सञ्चालन गरिएको दर्ता शिविरमा विवरण दर्ता गराएका नागरिकलाई हाल परिचयपत्र वितरण हुन लागेका हुन्। ।
गाउँपालिकाले १८ र १९ गते वडा नम्बर ३ को, २० र २१ गते वडा नम्बर ४ को २२ देखि २५ सम्म वडा नम्बर २ को २६ र २७ गते वडा नम्बर ५ र २८ र २९ गते वडा नम्बर १ को गाउँपालिका कार्यालयबाट परिचयपत्र वितरण गरिने अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले बताए। वडा नम्बर ६ को परिचयपत्र नपुगेको उनले बताए ।
परिचयपत्र लिने व्यक्तिले अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था मिलाइएको छ। यता प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्याउपानेका अनुसार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाका सातै स्थानीय तहबाट परिचयपत्र वितरण थालिएको जानकारी दिए।