बैतडीकी रितुले जितिन् ‘स्पेशल अवार्ड’ को उपाधि

बैतडी-बैतडी घर भएकी महिला क्रिकेट खेलाडी रितु कनौजियाले ‘स्पेशल अवार्ड’ जितेकी छन्।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा धनगढीमा सम्पन्न छैठौं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड २०८१ मा रितुले ‘स्पेशल अवार्ड’को उपाधि जितेकी हुन् ।

अवार्डसंगै रितुले २५ हजार पुरस्कार समेत पाएकी खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो।लामो समयदेखि सक्रिय रुपमा खेलकुद क्षेत्रमा योगदान दिइरहेका खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गरिएको हो ।

रितुले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै क्रिकेटमा आफूले गरेको योगदानको मञ्चले कदर गरेको बताइन् ।

उनले भनिन्,‘यो अवार्डले मलाई अझै पनि क्रिकेटमै लागिरहन उत्प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टिमबाट खेलेर सन्यास लिने सोचमा छु।’

कनौजिया नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याच हुन् । ४३ वर्षीया रितु अहिले पनि क्रिकेट खेलाडीकै रुपमा सक्रिय छिन् ।
रितुले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानी समेत गरिसकेकी छन् ।बैतडीको दशरथचन्द नगरपालिका–४ गढी घर भएकी कनौजिया अहिले पनि राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी छन् ।

यसका साथै स्थानीय खेलाडीहरुलाई प्रशिक्षणसमेत दिइरहेकी छन् ।सन २००७ मा मलेसियामा भएको एसिसि ओमन्स महिला क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डसंग खेल्दै पहिलोपटक अन्र्तराष्ट्रिय खेल खेल्यो ।

उक्त प्रतियोगितामा रितुले पनि अन्र्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् ।वि स २०३९ सालमा जन्मिएकी रितुले १५ वर्षदेखि नै क्रिकेट खेल्न सुरु गरिन् ।

जिल्ला,प्रदेश, राष्ट्रिय हुँदै नेपालको टिमको कप्तानी गरेर अन्र्तराष्ट्रिय प्रतियोगिता खेलिसकेकी रितु अहिले पनि घरेलु क्रिकेटमा सक्रिय रहेकी छन् ।

Leave A Reply

Your email address will not be published.