मेलौली न्यूज
चैत १९ शनिबार,२०७८
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र आमचोरामा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो ।
महादेव कन्सट्रक्सनले करीब २ करोडको लागतमा गाउँपालिकाको १६ कोठे भवन निर्माण कार्य सम्पन्न गरेको हो । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ । अब गाउँपालिकाले प्रवाह गर्ने सेवा समेत सहज भएको गाउँपालिका उपाध्यक्ष बिना भट्टको भनाई छ ।
यसैबीच नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवनको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्ष बीना भट्टले संयुक्त रुपमा भवनको उद्दघाटन गरेका हुन् ।
भवन उद्दघाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोरख बहादुर चन्दले भवन निर्माण आफ्नो कार्यकालको मुख्य उपलब्धिको रुपमा लिएको बताउनुभयो। स्थानीय तहको निर्वाचन भएपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भईरहेकोमा अब त्यो समस्या समाधान भएको उहाँले बताउनुभयो ।
यसअघि गाउँपालिकाले तत्कालीन गाविसको कार्यालयबाट सेवा प्रवाह गर्दै आइरहेको थियो।
–दिव्यास्त्र न्यूजबाट