बैतडी : नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनलाई स्थानीय सरकारहरुले समर्थन गर्न थालेका छन्। शिक्षकहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै स्थानीय सरकारहरुले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैतडीको शिवनाथ गाउँपालिकाले शिक्षक महासंघले गरिरहेको आन्दोलनमा ऐक्वबद्धता जनाउँदै शिक्षा मन्त्रीलाई पत्र पठाएको छ। शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले आवश्यक सहजीकरणका लागि शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र पठाएका हुन्।
मन्त्रीलाई पठाएको पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष र नेपालको संघीय संविधान जारी भएको ९ वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन जारी हुन नसक्नु विडम्बनापूर्ण भएको उल्लेख गरिएको छ। समयमै विद्यालय शिक्षा ऐन जारी नहुँदा पेशागत मागहरु सम्बोधन नहुनुका साथै शिक्षा क्षेत्रमा समस्या पैदा भएको पत्रमा उल्लेख गरिएको छ।
शिक्षकहरुको आन्दोलनले बैतडीजस्ता विकट क्षेत्रहरुमा पठनपाठनमा समेत अवरोध भएकाले वर्तमान समस्या समाधान गर्न पत्रमार्फत आग्रह गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए। शिक्षक तथा विद्यालय कर्मचारीहरुको न्यायपूर्ण आन्दोलनमा शिवनाथ गाउँपालिकाको तर्फबाट ऐक्यबद्धता समेत रहेको उनले बताए।
देशभरका शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै एक हप्तादेखि काठमाडौंमा आन्दोलनमा गरिरहेका छन्।