बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढ्यो

बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मनाइने बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढेको छ। यतिखेर गाउँघरमा घर लिपपोतदेखि रोजगारी, पढाईका लागि घर बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै चहलपहल समेत बढेको हो।

बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्। बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन्। नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको स्थानीय संस्कृतिका जानकार शिक्षक विरुवाराम लुहारले बताउनुभयो।

चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको स्थानीयहरु बताउँछन्। कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन रहेको छ।

त्यस्तै नयाँ वर्ष तथा बिसु पर्वमा विभिन्न सहर तथा भारत गएकाहरू पनि घर फर्किन थालेसँगै झन गाउँमा चहलपहल पनि बढेको छ। बसु पर्वको अवसरमा बिहे गरेर पराई घर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ। बिसुको दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार माडा) खाने चलन छ।

बिसु पर्वका अवसरमा सुदूरपश्चिममा सिस्नु लगाउने प्रचलन समेत रहेको छ।

Leave A Reply

Your email address will not be published.