उदयदेव प्रिमियर लिगको उपाधी आयोजकलाई

बैतडीको पाटनमा सम्पन्न दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि २० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्दै भ्याली च्याम्पियन बन्यो ।

भ्याली लगातार दोस्रोपटक च्याम्पियन बन्यो । पहिलो संस्करणको उपाधि पनि भ्यालीले हात पारेको थियो। च्याम्पियन बनेसंगै भ्यालीले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

यस्तै उपविजेता बनेको बनारसीले ४५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बझायो। जितका लागि पाएको ७३ रनको लक्ष्य भ्यालीले ८ दशमलब १ ओभरमा ४ विकेटको क्षतीमा भेट्टायो।

जसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे। यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिंग गरेको बनारसी १४ दशमलब ३ ओभरमा ७२ रनमा समेटियो। उसका कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। विजेता उपविजेता खेलाडीहरुलाई पाटन नगरपालिकाका उपप्रमुख कमल बोहरा, जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी, पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोस जोशीलगायतले पुरस्कार वितरण गर्नुभयो।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ।

Leave A Reply

Your email address will not be published.