बैतडीको पाटनमा आजदेखि कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ। नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना,पाटन नगरपालिकाको प्रवद्र्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो।
श्रीकृष्ण मावि पाटनको मैदानमा सुरु भएको महोत्सवको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले जानकारी दिनुभयो। उद्घाटन समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरालगायतको उपस्थिती रहेको थियो।
उद्घाटन समारोहपश्चात कलाकार मनोजसिंह धामी,गुणाकर पनेरुलगायतले प्रस्तुती राखेका थिए। भोलि लोक देउडा कलाकार रेखा जोशी,रेश विसी र स्थानीय कलाकारको प्रस्तुती रहनेछ।
आजदेखि सुरु भएको प्रदेशस्तरीय महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताउनुभयो।
सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ। स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जानकारी दिनुभयो।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैंया र विद्यार्थीलाई ३० प्रतिशत छुट राखिएको आयोजकले जनाएको छ।