पुर्चौंडीमा हुने बृहत् स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा

बैतडी-बैतडीको पुर्चौंडीमा भोलि देखि शुरु हुने बृहत स्वास्थ्य शिविरको तयारी पूरा भएको छ ।पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको सहकार्यमा सञ्चालन हुने शिविरको तयारी पूरा भएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताउनुभयो ।

दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि बैतडी समाज कैलालीसंग सहकार्य गरेर बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताउनुभयो ।

शिविरमा बिशेषज्ञ सेवा प्रदान गरिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । शिविरमा जनरल ओपडीका साथै मुटुको चेकजाँच,पेट तथा पत्थरीको चेकजाँच,स्त्री तथा प्रसूती रोग सेवा,निशुल्क प्रयोगशाला सेवा लगायतका सेवाहरु प्रदान गरिने उनले बताउनुभयो।

शिविरमा धनगढी नेत्रालयको सहकार्यमा आँखा चेकजाँच सेवा सञ्चालन हुने जनस्वास्थ्य निरीक्षक अवस्थीले बताउनुभयो । उक्त शिविरमा आँखाको चेकजाँचका साथै मोतीबिन्दुको शल्यक्रिया समेत गरिने अवस्थीले बताउनुभयो ।

शिविर सञ्चालनका लागि पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्यचौकी भवनमा व्यवस्थापन मिलाइएको छ । शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएकाले शिविरमा आएर सेवा लिन नगरबासीहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।शुक्रबारदेखि आइतबार सम्म सञ्चालन हुने शिविरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ ।

बैतडी समाज कैलालीले हरेक बर्ष विभिन्न स्थानीय तहहरुसंगको सहकार्यमा शिविरमा प्राविधिक सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.