बैतडी: भूमि समस्या समाधान गर्न बैतडीका दुई स्थानीय तहमा स्थानीय सहजीकरण समिति गठन गरिएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति यहाँका स्थानीय तहमा सहजीकरण समिति गठन गर्ने कार्य गरिरहेको हो।
जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा उक्त समिति गठन गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताउनुभयो। उहाँले भन्नुभयो,“ भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पालिकाहरुसंगको समन्वयमा स्थानीय सहजीकरण समिति गठन गर्ने कार्य भइरहेकोे छ। ”
सम्बन्धित पालिका प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सहसंयोजक रहने व्यवस्था छ। यस्तै पालिकाभित्र रहेका राष्ट्रिय राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरु समितिमा सदस्य रहने व्यवस्था रहेको छ।
उक्त समितिले पालिकाभित्र रहेका भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर प्रमाणीकरणका लागि सम्बन्धित कार्यपालिकाबाट निर्णय गराउने र उक्त निर्णयलाई जिल्ला समितिमा समेत पठाउने जनाएको छ।
समिति गठन भएका पालिकाहरुमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यासम्बन्धि कामको प्रक्रिया पनि अगाडी बढेको अध्यक्ष पाण्डेयले बताउनुभयो।
यसैबीच दोगडाकेदार गाउँपालिका बाहेक बैतडीका नौ स्थानीय तहमा भूमि शाखा गठन समेत गरिएको छ। स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई उक्त शाखाको जिम्मेवारी दिएर काम अघि बढीरहेको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ।
आयोगको जिल्ला समितिले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्नेछ।