बैतडीको गाँजरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैँ

बैतडी : सिगास गाउँपालिका-२ स्थित गाँजरी स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजना र गाउँपालिकाको समन्वयमा वैशाख १७ गते नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले जानकारी दिए।

शिविरमा सर्ने तथा नसर्ने रोग उपचार तथा परामर्श सेवा प्रदान गरिनेछ। उच्च रक्तचाप, मधुमेह, महिलाहरूको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच एवं पाठेघर खस्ने समस्याको पहिचान तथा व्यवस्थापन, यौन रोग, तल्लोपेट दुख्ने, महिनावारी सम्बन्धी चेकजाँच र मानसिक स्वास्थ्य सम्बन्धी चेकजाँच तथा औषधी वितरण गरिने गाँजरी स्वास्थ्य चौकीका प्रमुख बिरेन्द्र सिह क्षेत्रीले जानकारी दिए।

यस्तै गर्भवती महिलाहरूको निशुल्क भिडियो एक्सरे, मुख स्वास्थ्य सम्बन्धी चेकजाँच तथा उपचार सेवा प्रदान गरिने उनले बताए। उक्त स्वास्थ्य सम्बन्धित समस्या भएका व्यक्तिहरूले सेवा लिन गाउँपालिकाले आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.