बैतडीमा थप १२ जना क्षयरोगका बिरामी फेला

बैतडीमा क्षयरोगमुक्त अभियान सञ्चालन भएका दुई पालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा थप १२ जना क्षयरोगका बिरामी फेला परेका हुन्। ती दुई पालिकामा क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको थियो। पुर्चौंडी नगरपालिकामा ६ जना र सुर्नया गाउँपालिकामा ६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका बताइएको छ।

क्षयरोगमुक्त अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ बिरामी फेला परेका पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए। शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको एक्सरे गरिएको र शंकास्पद बिरामीहरुको खकार परीक्षण गरेर क्षयरोग भएरनभएको पत्ता लगाएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए।

शंकास्पद बिरामीहरुको खकार परीक्षण गर्दा थप ६ जनामा क्षयरोग पुष्टि भएको र उनीहरुलाई उपचारको दायरमा ल्याइएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए। यसअघि पुर्चौंडीमा २१ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन्। यस्तै सुर्नया गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ जना क्षयरोगका बिरामी फेला परेका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताए । नयाँ बिरामीहरुलाई उपचारको दायरमा ल्याइसकेको उनले बताए।

समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। बैतडीमा १ सय २ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन्। पुर्चौंडी र सुर्नयामा १२ जना नयाँ बिरामी फेला परेपछि क्षयरोगीको संख्या १ सय १४ जना पुगेको छ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ। क्षयरोगका बिरामीहरु लक्ष्य अनुसार अझै उपचारमा आएका छैनन् । समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए।

लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ।

Leave A Reply

Your email address will not be published.