बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, १९ वटा केन्द्र निर्धारण

शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि सारेको कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ। कक्षा १२ को परीक्षाका लागि यस वर्ष बैतडीमा १९ वटा केन्द्र निर्धारण गरिएको छ। जिल्लामा ६५ वटा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय छन् । नियमित तर्फका लागि १८ वटा र २०५७ सालयता छुटेका विद्यार्थीका लागि दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बीरेन्द्र माविमा एउटा गरी १९ वटा परीक्षा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो।

यस वर्ष जिल्लाभर चार हजार छ सय १३ जना विद्यार्थी १२ कक्षाको परीक्षामा सहभागी हुने एकाइ प्रमुख अवस्थीले बताउनुभयो। गत वर्ष बैतडीमा चार हजार आठ सय पचपन्न जना परीक्षामा सहभागी हुनुभएको थियो।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो। नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो।

परीक्षा मार्यादित र व्यवस्थित बनाउन जिल्लाका १९ वटै केन्द्रमा तीन सय जना कर्मचारी खटाइएको एकाइ प्रमुख प्रमुख अवस्थीले बताउनुभयो। बिहान ८ बजेबाट जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका छ।

देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतबारदेखि हुने परीक्षामा सहभागी हुने छन्।

Leave A Reply

Your email address will not be published.