बैतडीमा एसिसी यू-१६ क्रिकेट प्रतियोगिताको जिल्ला छनौट वैशाख २५ देखि हुने

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका लागि बैतडीमा पनि तयारी गरिएको छ। उक्त छनौट प्रतियोगिताका लागि बैतडी जिल्ला क्रिकेट संघले यहाँका क्लबहरुबीच प्रतिस्प्रर्धा गराउदैछ।

संघले आज एक सूचना जारी गर्दै संघमा आवद्ध क्लबहरुलाई सहभागीताका लागि आह्वान गरेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो। सहभागी हुने क्लबहरुबीच यही वैशाख २५ गतेदेखि दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा छनौट खेलहरु सञ्चालन हुनेछन्।

चार दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“छनौट प्रतियोगितामा सहभागिताका लागि संघका आवद्ध सम्पूर्ण क्लबलाई आह्वान गरेका छौं। यस छनौट प्रतियोगिताबाट जिल्लाको उत्कृष्ट टोली तयार गछौं।”

प्रतियोगितामा सहभागी हुने खेलाडी १२ वर्ष पूरा भएको र वि स २०६५ भाद्र पछि जन्मेको हुनु पर्नेछ। यस्तै उमेर प्रमाणित हुने कागजातको हकमा अनलाईन जन्म दर्ता, नाबालिक परिचय पत्र वा विद्यालयबाट उमेर प्रमाणित भएको कागजागतको प्रतिलिपि पेश गर्नु पर्नेछ।

टि–२० फरम्याटमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीको खेल सामग्री, आवास, यातायात लगायतको सम्पूर्ण खर्च सम्वन्धित क्लबले व्यहोर्नुपर्ने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ।

Leave A Reply

Your email address will not be published.