बैतडीको पञ्चेश्वर–१ पूर्णखोप सुनिश्चित वडा घोषणा

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चित घोषणाका सबै सूचक पूरा भएपछि सोमबार एक कार्यक्रमको आयोजना गरेर पञ्चेश्वर गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताउनुभयो।

वडाभित्र जन्मेदेखि १५ महिनामुनिका ९० जना र १६ महिनादेखि ५९ महिनासम्मका २ सय ९४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको सार्कीले बताउनुभयो।

गएको माघ २६ देखि फागुन ५ गतेसम्म वडाका प्रत्येक घरधुरीमा गएर बालबालिकाहरुले खोप पाए/नपाएको एकीन गरिएको थियो। वडाभित्रका बालबालिकाहरुले सबै खोप पाएकाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए।

आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ।

Leave A Reply

Your email address will not be published.