पञ्चेश्वरमा दश शय्याको अस्पताल निर्माण कार्य तीव्र

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ ।

गाउँपालिका केन्द्र रहेको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ शैलोडामा निर्माण भइरहेको अस्पताल निर्माण हालसम्म करिब ६० प्रतिशत काम भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार पञ्चेश्वर गाउँपालिकामा पनि दश शय्याको अस्पताल निर्माण भइरहेको हो ।

दस शय्या अस्पतालको दोस्रो तलाको छत ढलान गरी तेस्रो तलाको काम सुरु हुने तयारी भईरहेको गाउँपालिकाका इञ्जिनियर मौनीले जानकारी दिनुभयो ।

पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ अस्पताल निर्माणपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ। ”

दस शय्याको अस्पताल सञ्चालनमा आएपछि मेडिकल अधिकृत (एमबीबीएस) ले सेवा दिने हुँदा सामान्य खालका शल्यक्रिया र आयुर्वेदिक जस्ता सेवा पनि थपिने गाउँपालिका उपाध्यक्ष विना भट्टले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिका छ वटा वडामा ६ वटा स्वास्थ्य चौकी तथा सामुदायिक खोप क्लिनिक सञ्चालनमा छन् ।यो अस्पताल सञ्चालनमा आएपछि पालिका क्षेत्रबाट उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

Leave A Reply

Your email address will not be published.