देशलाई एकताबद्ध गर्न लागि जागरण अभियान: अध्यक्ष प्रचण्ड

बैतडी: पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई एकताबद्ध गर्न लागि जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ। शुक्रबार बैतडीको पाटनमा ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो।

जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको र समस्याको सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,“राष्ट्रिय एकताको सन्देश दिन अभियान सञ्चालन गरेका हौं। सबै जनतालाई एकताबद्ध बनाउन चाहन्छौं। यो अभियान राष्ट्रिय एकताको सुत्रमा बाध्न महत्वपूर्ण हुनेछ।”

तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,“ यो सरकार जनताको विरुद्ध काम गरिरहेको छ। जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ। यो अभियानले सरकारलाई खबरदारी पनि गर्ने ।”

माओवादी पार्टी जनताको पार्टी रहेको बताउदै उहाँले उत्पीडित वर्गको हाअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले तर्क गर्नुभयो। किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले भन्नुभयो,“ किसानको जीवनस्तर परिवर्तन गर्नका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा क्रान्ति गर्न जरुरी छ।”

सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो,“दशे बलियो हुनका लागि सुदूरपश्चिमको विकास जरुरी छ । हामी सरकारमा हुँदा सुदूरपश्चिममा ठुला योजना र कार्यक्रम सञ्चालन गरेका छौं।”

२०८४ को आमनिर्वार्चनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गर्नभयो। कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नभयो।

उहाँले भन्नुभयो,“ देशका अन्य प्रदेशमा कर्मचारी ऐन जारी भइसकेपनि सुदूरपश्चिममा अझै आउन सकेको छैन्। सुदूरपश्चिमका कर्मचारी ऐनको माग गर्दै आन्दोलित छन्। उनीहरुको माग सम्बोधन गर्न प्रदेश सरकार र केन्द्र सरकारलाई अपिल गर्दछु ।”

यसका साथै करौडौं खर्च गरेर पुनः निर्माण गरिएको पाटन विमानस्थल सञ्चालन सञ्चालन हुन नसकेकोप्रति अध्यक्ष दाहालले दुःख व्यक्त गर्नभयो। उहाँले भन्नुभयो,“ विमानस्थल सञ्चालनमा आउन सके यहाँको आर्थिक सम्बृद्धि र पर्यटन प्रवद्र्धन टेवा पुग्नेछ। त्यसैले पाटनमा हवाई मार्ग सञ्चालनका लागि माग गर्दछु।”

यसअघि अध्यक्ष दाहालले आजै पाटनमा निर्मित स्मारक उद्घाटन गरेर जनजागरण अभियानको शुभारम्भ गर्नुभएको वाइसिएलका केन्द्रीय सचिव नवराज ऐरले बताउनुभयो। जनजागरण अभियानका लागि यहाँ आइपुग्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन समेत गरेको थियो।

अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आउनुभएको छ। अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ।

यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ।

Leave A Reply

Your email address will not be published.