बैतडी: हावाहुरी र असिनापानीका कारण बैतडीमा व्यापक क्षति भएको छ। हिजो बेलुका एक्कासी आएको हावाहुरी, वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
हावाहुरीले सिगास गाउँपालिका २ मैतडका विष्णु बोहराको दुईतले दुई कोठे जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो।
टेकेन्द्रको टाउकोमा चोट लागेको छ। सिगास–५ खैरकोट, सल्याली, ढुंगाडका केही घरहरुमा पनि हावाहुरीले क्षति पुगेको छ। यस्तै हावाहुरीले पाटन नगरपालिका ८ धारीमा रहेको दुई कोठे एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छाना उडाएको छ।
उक्त सामुदायिक भवनको छाना उडाएर नजिकै रहेको विनोद महराको घरबाहिर बाधेर राखेको भैसीको पाडालाई लाग्न गइ मरेको प्रहरी निरीक्षक बडूले बताउनुभयो। डिलाशैनी गाउँपालिका ६ नेगाउमा रहेको निङलासैनी आधारभूत विद्यालयको शौचालयमा पनि हावाहुरीले रुख ढल्दा क्षति पुगेको छ।
हावाहुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो। डिलाशैनी ६ बांगाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग सुचारु भइरहेको उहाँले बताउनुभयो। असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ४ का उमेश भट्टले जानकारी दिनुभय।
उहाँले भन्नुभयो,“एक्कासी आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा ठुलो क्षति पुगेको छ।” हावाहुरीका कारण विद्युत सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । विद्युत नहुँदा जिल्लाभरी अन्धकार भएको छ।
अवरुद्ध विद्युत सेवा सुचारुका लागि प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख जनार्दन पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो,“ हावाहुरी र चट्याङसहितको वर्षाका कारण विद्युत सेवा अवरुद्ध भएको छ। सुचारुका लागि प्रयास भइरहेको छ।”
जिल्लाका अन्य ठाउँमा पनि हावाहुरी र असिनापानीले क्षति पुर्याएको खबर रहेको छ। यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली,तरकारी र बेर्नामा व्यापक क्षति पुर्याएको थियो।