बैतडी : मेलौली नगरपालिकाको गेटमा स्थानीयहरुले फालेको फोहोर अझै उठेको छैन्। नगरपालिकाले फोहोर व्यवस्थापनमा वेवास्ता गरेको भन्दै मंगलबार स्थानियहरुले पालिका गेट अगाडी फोहोर फालेका थिए।
नगरबासीले पटक–पटक आग्रह गर्दा पनि बजार क्षेत्रमा जथाभावी फालिएको फोहोर व्यवस्थापनमा वेवास्ता गरेको भन्दै स्थानियले पालिका गेटमा फोहोर फालेर विरोध जनाएका थिए। पालिका गेट नजिक फोहर फालेको तिनदिन भईसक्दा पनि फोहर उठेको छैन।
यसैगरी बुधबार स्थानियले नगर उपप्रमुख पार्वती बोहरा विष्टलाई फोहोर व्यवस्थापनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन। नगर उप-प्रमुख बिष्टले ध्यानाकर्षण पत्र बुझ्दै यो विषयमा छलफल गरेर सामाधान गरिने बताउनुभएको छ।

नगरपालिकाको गेटनीर फालिएको फोहोर उठाउन पनि छलफल गरेर मात्रै निर्णय लिईने जनाईएको छ। नगर प्रमुख भिमबहादुर चन्द भने काम विशेषले बाहिर रहेका छन।
तल्लो सोराडको मुख्य ब्यापारीक केन्द्रका रुपमा रहेको मेलौली बजारको बीचमा जथाभावी फालिएको फोहरले आवत-जावतमै समस्या भएको छ। रक्सीका बोतल, प्लास्टिक, सडेगलेका फोहोरदेखि लिएर नकुहिने वस्तुसम्म बजारभरी फालिएका छन। टाढाबाट आउने यात्रुहरू समेत दुर्गन्ध र दृश्यको कारण हैरान भएका छन्।
स्थानीयले पटक-पटक सरसफाइको माग गर्दा पनि नगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेको छैन्।