बैतडीमा एसइई तयारी तीव्र, ५५ सय विद्यार्थीले परीक्षा दिने

बैशाख ५, सोमबार २०७९

बैतडी- बैतडीमा माध्यमिक शिक्षा परीक्षा(एसइई) तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको हो।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा हुने विद्यालयमा नै हुनेछन्।

विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीको परीक्षा नियमित परीक्षार्थीले जाँच दिने विद्यालयमा नै हुने भएको हो। सबै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्त भइसकेका छन्।

केन्द्राध्यक्षलाई अभिमुखीकरण गरिने भएको छ। परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन उनीहरूका लागि यही वैशाख ६ गते ८ बजे अभिमुखीकरण कार्यक्रम राखिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको छ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ५ हजार ४ सय ३१ जना विद्यार्थी सहभागी हुने जनाइएको छ। जसमा नियमिततर्फ ५ हजार १ सय ८१ जना, प्राविधिकतर्फ १ सय ८१ जना र ग्रेड वृद्धितर्फ ६७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा वैशाख ९ गते शुरू भएर वैशाख २० सकिनेछ। परीक्षा बिहान ८ बजे शुरु हुनेछ।
…….विनोद सिंह विष्ट…………..

Leave A Reply

Your email address will not be published.