बैतडीमा इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेला लाग्दैं, उद्योगमन्त्री भण्डारीले उद्घाटन गर्ने

बैतडीमा इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेला २०८२ को तयारी भएको छ। मेला यही जेठ २२ गतेदेखी २६ गतेसम्म जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौं खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी तथा मेला व्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र विष्टले बताउनुभयो।

दशरथचन्द नगरपालिका बैतडीको आयोजना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग तथा ग्वाल्लेक मिडिया ग्रुप प्रालिको व्यवस्थापनमा मेला सञ्चालनको तयारी भएको हो। मेलाको उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुहुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमै भारतको उत्तराखण्ड विधानसभा सदस्य बिसनसिंह चुफालको पनि विषेश उपस्थिती रहने जनाएको छ।

मेलामा नेपाल तथा भारतका कलाकारहरुले प्रस्तुति रहनुका साथै नेपाल र भारतका व्यापारिक स्टल रहने मेलाका व्यवस्थापक हेमबाबु लेखकले बताउनुभयो। यसका साथै स्थानीय उत्पादनलाई पनि जोड दिदै भारतबाट पनि विभिन्न व्यापारिक स्टल रहन्छन्।

उहाँले भन्नुभयो,“सुदूरपश्चिम प्रदेशभित्रका कलाकार र भारतको उत्तराखण्डका कलाकारले प्रस्तुति दिनेछन् । मेलामा दुबै देशका व्यापारिक स्टलहरु पनि रहनेछन्।” प्रवेश निःशुल्क राखिएको मेलामा स्थानीय बैतडीमा कला, संस्कृति भेषभुषा र व्यापारलाई विषेश स्थान दिइने दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताउनुभयो।

उहाँले भन्नुभयो,“स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन र नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न मेलाको आयोजना गरेका हौं। यसका साथै बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायिक सम्बन्ध कायम गर्ने पनि हाम्रो उद्देश्य रहेको छ।” इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.