बैतडीको सुर्नया पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बैतडीको सुर्नया गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ। सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।

गाउँपालिकाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ३ सय ५२ जना र १६ महिनादेखि ५९ महिनासम्मका १ हजार २ सय ३३ जना बालबालिकाहरुले खोप पाएका बताइएको छ। बालबालिकाहरुले खोप पाए/नपाएको बिषयमा घरधुरी सर्वेक्षण गरिएको थियो।

गाउँपालिकालाई हरेक बर्ष पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने गरिएको छ। यसको निरन्तरता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।

बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध राष्ट्रिय खोप तालिका अनुसार खोप दिने गरिएको छ। गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले गाउँपालिकाबासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन आफू प्रतिबद्ध रहेको बताए।

यस्तै उक्त कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहराले बालमृत्युदर रोक्नमा खोप कार्यक्रम निकै प्रभावकारी रहेको बताइन्। गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरा, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवाला हरुको सहभागिता रहेको थियो।

यसैबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणमा सहयोग पुर्याएको भन्दै ८ ओटै वडाका स्वास्थ्य संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

Leave A Reply

Your email address will not be published.