डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो तीन बजेतिर आदर्श गाउँपालिका–१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जिप दुर्घटनामा परेको थियो। भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर आदर्श गाउँपालिका–७ का जिप चालक समेत रहेका सुरेशबहादुर कार्की, सायल गाउँपालिका–६ का काली कटुवाल र सायल गाउँपालिका–५ की हरुदेवी विकको मृत्यु भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार घाइते हरुदेवीको डोटीको सिलगढी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते २ जनाको सिलगढीमा उपचार भइरहेको छ। जिपमा ८ जना सवार थिए।