बैतडी–बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट बहुमतले पारित गरेको छ । नगर उपप्रमुख कमलसिंह बोहराले आफ्नो सहभागिता बिना बजेट ल्याएको भन्दै नगरसभामा आफ्ना कुरा राखेर बाहिरिएका थिए ।
उपप्रमुख बोहरा बाहेकका सबै नगर सभा सदस्यहरुको सहमतिमा ६६ करोड ९३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।उपप्रमुख नगरसभाबाट बाहिरिएपछि नगर प्रमुख रावलले आँफैले बजेट प्रस्तुत गरेका थिए ।
नीति, विधि र प्रणालीमा टेकेर बजेट नआएकाले आफू बाहिरएको नगर उपप्रमुख बोहराले टिप्पणी गरे । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो सहभागिता बिना बजेट ल्याएको बताएका छन् । आफ्नो सहभागिता बिनाको बजेट बाचन गर्ने अवस्था नआएकाले आफू सभाबाट बाहिरिएको उनले बताए ।
यसअघि सोमबार नै बजेट पारित गर्ने तयारी गरिएको भएपनि उपप्रमुख बोहरा अनुपस्थित भएपछि नगरसभा स्थगित गरिएको थियो ।
नगर उपप्रमुख बोहराले आफूखुसी बजेट निर्माण गरिएको आरोप लगाएका छन् । विभिन्न शीर्षकमा राखिएका बजेटहरु कटौती गरिएको उनले बताएका छन् ।