बैतडी सहित सुदूरपश्चिम प्रदेसकै प्रसिद्ध मेलौली भगवती मन्दिरमा निर्माणाधीन संरचनाहरु यथाशिघ्र सम्पन्न गर्न पुनःध्यानाकर्षण गरिएको छ। मेलौली धार्मीक सेवा समितिले सोमबार मेलौली नगरपालिकालाई ध्यानाकर्षण गराएको हो।
विगतका वर्षहरुदेखी मेलौली नगरपालिकाको ठेक्का टेन्डर मार्फत निर्माण कार्य सञ्चालनमा रहेको गेट घेरपर्खाल लगायतका पूर्वाधारहरु निर्माण भईसक्नुपर्ने भएपनि नभएको भन्दै पुनःध्यानाकर्षण गरिएको मेलौली धार्मीक सेवा समितिका सचिव दशरथसिह नायकले बताउनुभयो। निर्माण कार्यहरु समयमै सम्पन्न हुन नसक्दा मन्दिर क्षेत्र परिसरमा बृक्षारोपण, गार्डेन, पार्क निर्माण लगायतका अन्य पूर्वाधारहरु निर्माण कार्यमा बाधा भईरहेको समेत जनाईएको छ।
निर्माण योजनाको कार्य प्रगति कार्यान्वयन गराउने कार्यमा नगरपालिका गम्भीर नभएको समेत ध्यानाकर्षण पत्र मार्फत भनिएको छ। नेपाल सरकारको संघिय अनुदान र मेलौली नगरपालिकाको सयुक्त लगानीमा नगरपालिका मार्फत ठेक्का टेन्डर भएका योजनाहरु कार्यान्वयन गर्ने गराउने विधि, पद्धति तरिका तथा पहलकदमीमा नगरपालिका गम्भीर नभएको जस्तो अनुभुती भएको जनाईएको छ।
निर्माणाधीन योजना आगामी आर्थीक वर्ष २०८२/०८३ मा सम्पन्न हुनेगरी निर्माणकार्य समयमै सम्पन्न गर्न गराउन अनुरोध गरिएको छ। मेलौली भगवती मन्दिर यस क्षेत्रको सार्वजनीक महत्व बोकेको र हरेक दृष्टिकोणबाट पहिलो नम्बरमा रहेकाले बिशेष ध्यान दिन नगरपालिकालाई अनुरोध गरिएको जनाईएको छ।
यसैगरी ध्यानाकर्षण पत्र मार्फत मेलौली भगवती मन्दिरको लागि आर्थीक वर्ष २०८२/०८३ को बजेटमा न्यूनतम एक करोड भन्दा माथि बजेट बिनियोजन गर्न भनिएको छ। निर्माण कार्य सञ्चालनका लागि निर्माण कम्पनीलाई ताकेत गर्ने गराउने पनि उल्लेख गरिएको छ।
पत्र मार्फत नै संघिय सरकार सम्बन्धित मन्त्रालयमा बजेट मागका लागि पहल गर्ने, सम्बन्धित मन्त्रालयको टिमलाई आमन्त्रण गरी निर्माण कार्यको अनुगमन, बर्षौपिच्छे सानो बजेट राख्दा कामै नहुने झन्झट भएकाले सबैको निर्णयबाट बढि बजेट बिनियोजना गर्न माग गरिएको छ।

