सुदूरपश्चिम प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको ३३ अर्ब ४७ करोड रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा बजेटमाथिको दुई दिन लामो छलफल सम्पन्न भएपछि आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले बजेट कार्यान्वयनका लागि प्रस्ताव पेश गरेका थिए।
सभामुख भीमबहादुर भण्डारीले ध्वनि मतको आधारमा प्रस्ताव पारित भएको घोषणा गरेका हुन्। विपक्षमा कुनै आवाज नआएको भन्दै विधेयक सर्वसम्मतिले पारित भएको बताइएको छ।
यसअघि सोमबार र मंगलबार चलेको बजेट छलफलमा सत्ता पक्ष र प्रतिपक्ष दुवैका प्रदेश सभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाएका थिए। छलफलमा भाग लिएका २७ जना सदस्यहरूमध्ये धेरैले बजेट निर्माण प्रक्रियामा विचौलिया हावी भएको गुनासो गरेका थिए।
योजनाहरू खरिद/बिक्री भएको भन्दै उनीहरूले गम्भीर छानबिनका लागि संसदीय समिति गठनको माग समेत गरेका थिए।