बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। जीप सवार अन्य ६ घाइते भएका छन्।
डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो।
राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शनिवार बिहान करिब साढे ५ बजेको समयमा बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो।
दुर्घटनाको कारण खुल्न सकेको छैन।