बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि यो बर्ष चार ठाउँमा ‘ट्याक्टर बहस’सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयले यो बर्ष देहीमाण्डौं,सतबाँझ, खोड्पे र गोकुलेश्वरमा ट्याक्टर बहस सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको उनले बताए। ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको उनले बताए । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले भने, ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालनमा गरेका हौं । ग्रामीण क्षेत्रमा धेरैजसो ट्याक्टर दुर्घटना हुने भएकाले हामीले यसलाई ट्याक्टर बहस नाम दिएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हौं।’
ट्याक्टरलाई व्यापारिक प्रयोजन र विभिन्न वस्तुहरुको ढुवानीका लागि प्रयोग गर्नुपर्ने भएपनि यात्रुहरु समेत बोक्ने गरेको पाइएकाले बहसको नाम नै ट्याक्टर बहस राखिएको हो। बहसमा सवारी साधन सञ्चालन ऐन लगायतका बिषयमा जानकारी गराइएको थियो। अधिकांश ग्रामीण क्षेत्रमा ट्याक्टर चालकहरुले लाइसेन्स बिना चलाउने गरेको पाइएकाले त्यसो नगर्न बहसमा सचेत गराइएको उनले बताए।
यस्तै अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ। क्षमताभन्दा बढी लोड नबोक्न आग्रह गर्नुका साथै ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने बिषयमा समेत सचेत गराइएको प्रहरी निरीक्षक पाण्डेयले बताए।
ट्याक्टर सवारी बोक्न नपाइने भएपनि ग्रामीण क्षेत्रमा सवारी समेत बोक्ने गरेको पाइएकाले त्यसो नगर्न बहसमार्फत चालकहरुलाई सचेत गराइएको छ। सवारी दुर्घटना हेर्दा ट्याक्टरबाट समेत खसेर धेरै मानिसहरुको मृत्यु हुने गरेको पाइएकाले ट्याक्टरमा सवारी नबोक्न चालकहरुलाई सचेत गराइएको प्रहरी निरीक्षक पाण्डेयले बताए।
ट्याक्टर बहसमार्फत सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमका बिषयमा जानकारी र अन्य कानुनी बिषयमा समेत सचेत गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।