बैतडीमा सञ्चालनमा रहेको गैरसरकारी संस्था दलित समाज विकास मञ्चले आफ्नो २२ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। मञ्चले आज बार्षिकोत्सवको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्नुका साथै कार्यालयमा अन्तरक्रिया सम्पन्न गरिएको दलित समाज विकास मञ्च बैतडीका सचिव बलभद्र दयालले बताए।
संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा संस्थाले सञ्चालन गरिरहेका कामहरुको बारेमा समीक्षा गरिएको थियो। २०६१ सालमा स्थापना भएको संस्थाले जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण, पछाडि परेका समुदायको उत्थानका लागि विभिन्न कामहरु गर्दै आएको छ।
विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा दलित समाज विकास मञ्चले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सचिव दयालले बताए।