बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरियो

बैतडीमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ। शनिवार जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एकै दिन दुई ओटा हर्नियाको सफल शल्यक्रिया गरिएको हो।

५८ र ६८ वर्षीय दुई जना पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए। यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन।

एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसंगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताए। आज पनि एक ४० वर्षीय पुरुषको हर्नियाको शल्यक्रिया गरिने अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल बैतडीमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशिल विकले जानकारी दिए।

यस्तै शनिवार नै एक जनाको एपेन्डिसाइटिस पनि शल्यक्रिया गरिएको छ।

Leave A Reply

Your email address will not be published.