महाकाली भन्सार कार्यालयद्वारा ७६ लाख राजस्व संकलन

बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८१/८२ मा ७६ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक बर्षमा १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको ७१।६५ प्रतिशतमात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए।

राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ। भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो।

अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा भने कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो। आर्थिक बर्ष २०८०/८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो।

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ। भारतीय बजारबाट आयात हुने सामग्रीबाटै राजस्व संकलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले बताए।

झुलाघाट नाकाबाट निर्यात भने शून्यकै अवस्था रहेको लेखापाल रानाले बताए।

Leave A Reply

Your email address will not be published.