बैतडीमा एक बर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ३ सय ४३ सवारी साधन कारवाहीमा परेका छन्। ट्राफिक नियमको पालना नगरेका ती सवारी साधनहरुलाई कारवाहीको दायरमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दशरथ नाथले बताउनुभयो।
ट्राफिक नियम उल्लंघन गर्ने बस, ट्रक, ट्याक्टर, जिप, मोटरसाइकल, अटो, कार लगायतका सवारी साधन कारवाहीमा परेका हुन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट जरीवना लिने गरिएको प्रहरी निरीक्षक नाथले बताउनुभयो।
एक बर्षको अवधिमा सवारी साधन कारवाहीबाट १५ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी निरीक्षक नाथले बताउनुभयो। अघिल्लो आर्थिक बर्षको तुलनामा भने गत आर्थिक बर्ष २०८१/८२ कम सवारी साधन कारवाहीमा परेका छन्। ट्राफिक नियमका बारेमा प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको, ट्याक्टर बहस सञ्चालन गरेको लगायतका कारणले ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको प्रहरी निरीक्षक नाथले दाबी गरे।
पछिल्लो समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्न दिएको छैन् भने ट्याक्टरमै यात्रु बोक्ने परिपाटीलाई हटाउन ट्याक्टर बहस सञ्चालन गरिएको नाथले बताए। यस्ता सचेतनामूलक कार्यक्रमले ट्राफिक नियम पालना गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
आर्थिक बर्ष २०८०/८१ मा ४ हजार ४५९ सवारी साधन कारवाहीमा परेका र ती सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। तर गत आर्थिक बर्ष २०८१/८२ मा अघिल्लो बर्षको तुलनामा कारवाहीमा पर्ने सवारी साधनको संख्या झण्डै आधामा पुगेको छ।
आर्थिक बर्ष २०७९/८० मा ३ हजार ९ सय ६ सवारी साधन कारवाहीमा परेका र ती सवारी साधनबाट २१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।