भौनेली स्वास्थ्यचौकी: एक बर्षमा ४ हजार बढीले सेवा लिए

बैतडीको भौनेली स्वास्थयचौकीबाट ४ हजार बढी नागरिकले सेवा लिएका छन्। जिल्लाको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ४ हजार ३ सय ८० जनाले सेवा लिएका स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए।

स्वास्थ्यचौकीले आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य संस्थाबाट ३ हजार १८ जनाले उपचारात्मक सेवा लिएको जनाएको छ। स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए।

स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए। यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

भौनेली स्वास्थ्यचौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था मध्ये रहेको बताइएको छ। किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा रहेको स्वास्थ्यचौकीले किशोरकिशोरीहरुलाई सेवा दिन अलगै कक्षको व्यवस्थापन गरेको स्वास्थ्यचौकी प्रमुख महराले बताए।

स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्यचौकी सदैव तत्पर रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.