साउन १५ : खीरलाई खानाको राजा मानिन्छ!

साउन १५ गते नेपाली समाजमा खीर खाने परम्परा रही आएको छ। वर्षायामका बेला असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने परम्परा मौलिक तथा प्राचीन परम्परा हो। खीरलाई खानाको राजा मानिन्छ। साउन महिनामा धार्मिक गतिविधि बढी हुने गर्दछन  यो महिना बढीजसो सात्विक भोजन गरिन्छ । यस कारण पनि ग्रामीण समाजमा खीरलाई बढी महत्व दिएको हो।

नेपाल कृषिप्रधान मुलुक भएका कारण पनि आजको दिनलाई महत्वका साथ हेरिन्छ। साउने झरीसँगै शरीरलाई न्यानो तथा हिष्टपुष्ट राख्न पनि तातो खीरले फाइदा गर्छ।

हाम्रा विभिन्न धार्मिक कार्यक्रमहरुमा खीरलाई प्रसादको रुपमा लिने गरिन्छ। विशेषगरी देवकार्य तथा पितृ कार्यहरुमा खीर बनाउने चलन छ। संस्कृत भाषामा खीरलाई  पायस  भनिन्छ । यसलाई पवित्र आहारको रुपमा लिइएको छ।

विचारको शुद्धीकरणका लागि आहारको महत्वपूर्ण भुमिका रहन्छ। आहार अनुसारको व्यवहार हुने भएकाले पनि आफूले ग्रहण गर्ने भोजनको बारे विशेष ध्यान दिनु जरुरी छ।

साउन महिनामा वर्षात हुने भएकाले प्राय स् घाँसपातको पनि त्यति धेरै समस्या हुदैन। गाई भैंसी पनि व्याउने तथा हरियो घाँस पाइने समय भएका कारणले यो समयमा दुधको खासै कमि हुदैन।

नेपाली ग्रामीण समाजमा केही मौलिक परम्पराहरु रही आएका छन। असार पन्ध्रमा दही चिउरा खाने , साउन पन्ध्रमा खीर खाने, भदो पन्द्रमा पोलेको मकै खाने, पौष पन्ध्रमा सख्खर, माघ पन्ध्रमामा मालपुवा खाने प्रचलन रहेको पाइन्छ। नेपाली समाजमा रहेका यस खालका मौलिक प्रचलनहरुलाई सबै मिलेर संरक्षण, संवर्धन गर्नु पर्दछ।

खीर खाने दिन तथा साउन १५ को हार्दिक शुभकामना व्यक्त गर्दछु।

देवेन्द्र दत्त भट्ट
अध्यक्ष नेपाली लेखक सङ्घ, बैतडी।

Leave A Reply

Your email address will not be published.