अज्ञात समूहको आक्रमणबाट बैतडीमा एक महिला घाइते

बैतडीको डिलाशैनीमा अज्ञात समूहको आक्रमणबाट एक महिला घाइते भएकी छन्। डिलाशैनी गाउँपालिका–५ लेट्ठेकोट निवासी अन्दाजी ५० बर्षीया मञ्जु नाथ अज्ञात समूहको आक्रमणबाट घाइते भएकी डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो।

शुक्रबार राति १ बजेको समयमा आफ्नै घरमा सुतीरहेको अवस्थामा नाथमाथि आक्रमण भएको उनले बताउनुभयो। अज्ञात समूहले नाथमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रवक्ता भट्टले बताउनुभयो।

घाइते नाथको टाउकोमा चोट रहेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। नाथको टाउकोमा १८ ओटा टाँका लागेका छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।

नाथमाथि आक्रमण गर्नेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताउनुभयो। घरमा एक्लै सुतीरहेकी नाथमाथि कसले, किन आक्रमण गर्यो भन्ने बिषय अझै खुलीनसकेको गाउँपालिकाका प्रवक्ता भट्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.