सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशका विभिन्न जिल्लामा एकसय वटा विद्यालय भवन निर्माण गरेको छ। सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा एकसय वटा दुई कोठाको विद्यालय भवन निर्माण गरेको हो।
प्रदेश सरकारले सबैभन्दा बढी कैलालीमा १९ वटा विद्यालय भवन निर्माण गरेको छ। त्यस्तै, बझाङमा १७, अछाममा १६, बैतडीमा १५, डडेल्धुरामा १४, डोटीमा आठ, दार्चुलामा छ र बाजुरामा पाँच वटा विद्यालय भवन निर्माण गरेको प्रदेश सरकारको एक वर्षको प्रगति विवरणमा उल्लेख छ।
यसैगरी, सरकारले कैलालीमा २०, कञ्चनपुरमा एक, डोटीमा १२, डडेल्धुरामा दुई, बाजुरामा दुई, अछाममा १४, बझाङमा पाँच, बैतडीमा तीन गरी ५९ विद्यालय घेरबार तथा खेलमैदान निर्माणको काम गरेको छ। विभिन्न चार जिल्लाका विद्यालयमा सात वटा शौचालय निर्माण भएको जनाइएको छ।
यस्तै, प्रदेश सरकारले डोटी बहुमुखी क्याम्पसको क्याम्पस भवन र प्रशासनिक भवन निर्माण गरेको छ। यसैगरी, अमरगढी बहुप्राविधिक शिक्षालय निर्माण सम्पन्न गरेको जनाइएको छ। अमरगढी बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माणको क्रममा रहेको प्रदेश सरकारले जानकारी दिएको छ।
सिक्दै कमाउँदै कार्यक्रमका लागि प्राविधिक धार सञ्चालन भएका छ वटा विद्यालयलाई अनुदान दिइएको जनाइएको छ । प्रदेश सरकारले छ वटा सामुदायिक विद्यालयहरुमा लघु सङ्ग्रहालय स्थापना गरेको छ। डडेल्धुराको भुवनेश्वरी माध्यमिक विद्यालय, डोटीको रामपुर मावि बुडर, कञ्चनपुरको लक्ष्मी मावि जगदिया, डडेल्धुराको जगदीश मावि बडाल र कञ्चनपुरकै सत्यवती मावि बनगाउँमा लघु सङ्ग्रहालय स्थापना गरिएको हो।
प्रदेश निर्वाचन क्षेत्रभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई प्रदेश नमुना विद्यालयको रुपमा सरकारले छनोट गरेको छ। छनोट भएका सबै विद्यालयको विकास गुरुयोजना तयार भइ डिपिआरसहित भौतिक र शैक्षिक विकासमा नमुनायोग्य कार्य प्रारम्भ गरेको जनाइएको छ।
साक्षर प्रदेश घोषणा गरिएको यो प्रदेशको १० वर्षे शिक्षा योजनाको प्रदेश सरकारले तयारी गरिरहेको छ। यसैगरी, प्रदेश शिक्षा नीति तर्जुमाको क्रममा रहेको जनाइएको छ। त्यस्तै, प्रदेश नमुना विद्यालय सञ्चालन निर्देशिकाको प्रारम्भिक ड्राफ्ट तयार भइसकेको जनाइएको छ। प्रदेश नमुना विद्यालय कार्यसम्पादन अनुदान मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ।