नेपाली कांग्रेस बैतडी –कैलालीको सम्पर्क समिति गठन गरिएको छ। सम्पर्क समितिको प्रथम भेलाले प्रयागराज भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो।
उक्त समितिको उपाध्यक्षमा तिलकसिंह धामी र नरसिंह भाट चयन भएका छन्। यस्तै सचिवमा शंकरसिंह ऐरी, सहसचिवमा यज्ञराज अवस्थी र अक्कलबहादुर भण्डारी, कोषाध्यक्षमा जयन्ती बोहरा चयन भएका छन्।
समितिको सदस्यहरूमा प्रेमबहादुर चन्द, सुरज मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल चयन भएका छन्। बाँकी सदस्य पछि मनोनयन गरिने समितिले जनाएको छ।
समितिको बैठकले नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। समिति गठनका लागि धनगढीमा आयोजित भेलामा नेपाली कांग्रेसका नेताहरूले संगठन विस्तार, विकास र सहकार्यमा विशेष जोड दिएका छन्।
भेलाका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान पाएको स्मरण गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए। उनले कैलालीमा रहेका बैतडीबासीले कांग्रेसलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
यस्तै केन्द्रीय सदस्य नृपबहादुर वडले आपसी सहकार्यबाट मात्र पार्टी बलियो हुने भन्दै सम्पर्क समितिले बैतडी र कैलालीबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताए। कार्यक्रममा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीका सबै नेता–कार्यकर्ताहरुले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
भेलामा प्रदेशसभा सदस्य शिवराज भट्टले बैतडी–कैलाली सम्पर्क समितिले पार्टीको संगठनलाई बलियो बनाउन काम गर्ने विश्वास व्यक्त गरे।