म बाल्यकालको त्यो समय सम्झन्छु, जब सानो हात समातेर मलाई बाटो हिँड्न सिकाउनुभएको थियो। खस्न खोज्दा समातिदिने त्यो हात, अक्षर नचिन्ने बेलामा क, ख, ग भनेर धैर्यपूर्वक पढाइदिने त्यो स्वर, आज पनि कानमा घन्किरहेझैं लाग्छ।
बुबाले दिनरातको मेहनत गरेर परिवारलाई अन्न–पानी जुटाउनुभयो। अनि आमाले आफ्नो सारा सपना छोडेर हाम्रो सपना पूरा गर्न जीवन अर्पण गर्नुभयो। कपडा पुरानो भएपनि मलाई नयाँ किनिदिनुहुन्थ्यो, भोकै बस्नुपरे पनि मलाई पेट भरि खान दिनुहुन्थ्यो। हरेक दिनका संघर्षहरूलाई हाँसोमा ढाक्दै, मेरो छोराछोरी ठूलो भएर राम्रो मान्छे बनून् भन्ने एउटा मात्र चाहनाले हजुरहरूले जीवनलाई अर्थ दिनुभयो।
आज हजुरहरू स्वर्गारोहण भईसक्नुभयो। तर मेरो मनमा हजुरहरूको सम्झना मात्र होइन, शिक्षा–दीक्षा, संस्कार र सच्चा माया सधैं जिउँदो छ। हजुरहरूको त्याग बिना म यो संसारमा उभिनै सक्दैनथें।
जीवनका हरेक पाइला अघि बढ्दा, हजुरहरूको अनुहार सम्झन्छु। हजुरहरूले सिकाएको इमानदारी, परिश्रम र करुणा नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।
प्रिय आमा–बुबा,
तपाईँहरू अब स्वर्गलोकमा हुनुहुन्छ। तर मेरो मुटुको कुनामा सदैव जिउँदो रहिरहनुहुन्छ। तपाईँहरूको आत्माले शान्ति पाओस्, र मेरो जीवनभरको यात्रा हजुरहरूको आशीर्वादमा उज्यालो रहोस्।सागर विष्ट
मेलौली नगरपालिका–०८ कोटिगाउँ, हाल साउदी अरब!