बुवा बाध्यताको पहाड, अदभूत पाठशाला

बुबाका बाध्यताको पहाड,संघर्षका डोबहरु अझैं पुरिएका छैनन्...

बुबा आफैँमा गर्विलो शब्द हो। जब सन्तानको साथमा बुबा हुन्छन् तब सन्तानमा छुट्टै साहस र उत्साह हुन्छ। बुबा जहिल्यै खास लाग्छन्। जसको रीसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई नै बुबा भनिन्छ। सन्तानको लागि बुबा बाध्यताको पहाड हो। बुबाले कुल्चिनु भएको रहरहरु र ढाँकेका बाध्यताहरु जहिल्यै सहनशील हुन्छन्।

बुबाले लुकाएका दबाब र पिडाहरु सन्तानको लागि सहानुभूति जस्तै हो। बुबाको आँखाका दुःखहरु, बुबाले थकानको सुस्केरामा लुकाएका सपनाहरु सन्तानको लागि अदभूत पाठशाला हो। बाबु घरका जग हो। जग बिनाको घरको कल्पना पनि गर्न सकिदैन। आफ्ना सन्तानका लागि कहिले घोडा बन्छन त कहिले भरिया बनिदिन्छन। त्यसैमा आफू खुशी भएको महसुश गर्छन।

सन्तानको लागि आफ्नो रहरहरु बाँधेर बसेका बुबा जब आफ्नो छोराछोरीले सफलता हाँसिल गर्छन्। तब मात्रै आफ्नो इच्छा चाहना पूरा गरेको ठान्दछन। हरेक छोराछोरीको सफलतामा बाबूआमा नै अगाडी हुन्छन। सन्तानले हिडेको बाटोलाई असल बाटो तर्फ डोर्याउने पनि बुबा नै हुन। आफ्नो थकान र पीडालाई सन्तानको सुखमा बिसाउने एक मात्र पात्र हुन बुबा। जसमा कहिल्यै थकान देखिँदैन। हो यसकै एक पात्र हुन मेरो बुबा।

जीवित बुवाको हकमा त झन कुशे औसी वा बुवाको मुख हेर्ने दिनले हिन्दु परम्परामा बिशेष अर्थ, औचित्य र तात्पर्य राख्छ।वर्षभरी हेय दृष्टिले हेर्ने वा विभिन्न बहानामा वास्ता नगर्ने अनि कुशे औसीको दिन भने विभिन्न माध्यमद्वारा समाजको सामु आखामा छारो हाल्ने कृतिम र ढोंगी कार्य भने कदापि गर्नुहुदैन। यस्तो गर्दा व्यक्ति स्वयमले आफुलाई ढाटेको, छलेको हुन्छ नै।

यसको अलावा आफ्नो सिंगो परिवार र समाजलाई समेत गुमराहमा पारिरहेको हुन्छ। अझ निश्चित टोल, छिमेक, समुदाय, वर्ग, पेशा, समाज र रास्ट्रकै प्रतिनिधि ठानिने व्यक्तिले त झन यस्ता काम गर्नुहुँदैन। जे होस कोहि कसैले बुवाप्रति कुनै किसिमको व्यवहार या दुव्र्यवहार गर्नु अगाडी र गर्ने बेला आफुले आफ्नो सन्तानलाई कसरि आत्मिक रुपमा माया गरिरहेको छ, त्यहि अनुसार आफ्नो बुवाले पनि आफुलाई गर्नु भएको छ भन्ने सम्झिनुपर्छ।

शास्त्रमा बुबाको महत्व
पितासम्मान दिवस मूलतः मूलको सम्झनाको दिवस हो ।कसैले पनि वर्षमा मात्र एक दिन आमा बाबुको सम्झना गर्ने र अरु दिन वास्ता नगर्ने भन्ने कदापि होइन। एउटा सन्देशात्मक विशेषतालाई महत्व दिएको हो यो बाबुको मुख हेर्ने त्यस्तै आमाको मुख हेर्ने दिनले। सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू बिशेष प्रकृति र महत्वका छन। त्यसमध्य पूर्णिमा र औसी पनि हुन। औसीहरु मध्य कुशे औसी एक बिशेष र महत्वपूर्ण तिथि हो। यो पुर्बिय सनातन हिन्दु परम्पराअनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ।

यो दिन पछिल्लो चरणमा बुवाको मुख हेर्ने दिनको रुपमा पनि प्रख्यात छ। यस दिन सु–सन्तानहरुले छोरा–छोरीहरुले आ–आफ्ना जीवित बुवालाई विभिन्न तौर–तरिकाबाट आफ्नो बुद्धि, बर्कत र गच्छे आदि अनुसार बिशेष मान र सम्मान गर्छन। प्रसन्न बनाउँछन र बुवाबाट आशिर्वाद प्राप्त गर्छन। बुवा नहुनेहरुले भने विभिन्न पवित्र स्थानहरुमा गई मृतक बुवाको नाममा श्राद्ध, तर्पण गरी अन्य दान गर्छन्। कथंकदाचित नजिकमा धार्मिक पवित्रस्थल नभए या नपाइए वा पायक नपरे आ–आफ्ना कुल परम्परा प्रचलन र रीति अनुसार नजिकको पधेरा, पोखरी, धारा आदिमा गइ वा घरैमा बिहानै स्नान गरि बुवाको श्राद कर्म गर्छन।

संघर्षमय बुबाको जिन्दगी
सघर्षबाट कहिल्यै नथाक्ने मेरो बुबा उमेरले ५० वर्ष पार गरिसक्नु भएको छ। तर पनि उतिक्कै संघर्षरत हुनुहुन्छ ।एक दिनभर रटिएर काम गर्न नसक्ने हामी हाम्रो बुबा दिनभर पसिना चुहाएर काम गर्दा पनि कहिल्यै थकाइ महसुस गरेका थाहा छैन। एकछिन आफुलाई फुर्सदिलो नराख्ने मेरो बुबाको त्यो मेहनत केवल हामी छोराछोरीकै लागि हो। आफु जस्तै मेहनती र लगनशिल छोराछोरी बनाउन चाहने मेरो बुबा अझैं हाम्रो भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ।

बुवाको संघर्षको कथा हरु धेरै सुनेको छु। घरको दयनिय स्थितिले गर्दा एघार वर्षको उमेरमा घर छोड्नु भएको रहेछ।भारतमा गएर नोकरी गर्दै पैसा घर पठाउने गर्नु भएको रहेछ।आफुले सानै देखि दुख सङ्घर्ष गरे पनि मैले अब केही गर्छु र हजुरलाइ साथ दिन्छु भन्दा मलाइ त अझै सानो छस भन्नू हुन्छ।

मेरो सपना अब त बुवाको पिर, तनाव, जिम्मेवारी लिन पाए केही हद सम्म बुबा माथिको लोड कम हुन्छ कि भन्ने सोच हो।तर पनि बुबाले मलाइ अझै सानो देख्नु हुन्छ ।तिस वर्षको उमेर को छोरो मलाई स्कुटी लिएर टाडा नजा भन्नु हुन्छ, जति झुट बोले पनि ज्योतिसले जस्तै मेरो गल्ती रुचि अनि पिर आँसु बुझ्नुहुन्छ। उमेर र बेलाले कहिलेकाहीँ म सबैभन्दा जान्ने बुझ्ने छु भनेर सोचेँ भने पनि मैले भन्दा धेरै कुरा जानेको,बुझेको र भोगेको हुनुहुन्छ भन्ने मनमा आउँछ अनि आफ्नो जान्नेबुझ्ने भ्रम भएको मेरो घमण्ड कमजोर भैदिन्छ। संसारमा सबैभन्दा ठूलो धन,सम्पत्ति,शिक्षा,माया र समय भन्दा पनि सबैभन्दा ठूलो बुबानै हो लाग्छ मलाइ।

मलाइ यहाँ सम्म आइपुग्दा हरेक दुख सङ्घर्ष झेल्नु परेको दिनहरु याद गर्छु।बुबाको माया बैसाख जेठको घामामा सितलता प्रदान गरेको महसुस गर्छु,पुष माघको जाडोमा न्यानो महसुस गराउछ बाबाको मायाले मलाई बुबाको च्यातिन लागेको जुत्ता हेर्छु तर पनि बुवाले फेर्न मान्नुहुन्न तर हामीलाई भने नयाँ किन नयाँ किन भन्नुहुन्छ। आफुलाई रोगले गर्दा मीठो खाना हुन्न तर हामीलाई भने के खाने मन छ भन्दै आफ्नो आत्मालाइ मारेर हाम्रो इच्छा पूरा गर्नुहुन्छ। यो संसारमा भगवान छन् या छैनन् मैले देखेको छैन तर भगवानको अर्को रुप भनेकै बुबा हो जस्तो मलाई लाग्छ।

बुबाको संघर्षका कथा आफ्नै आँखाले धेरै देख्न सुन्न पाए तर यसको भागीदार हुन पाएको छैन। बुबाले जति हाम्रो लागि गर्नुभयो मैले पनि यो दुःख र पीडाको बदला मैले पनि अब बुबालाइ सुख र खुशी पार्ने अवसरको खोजीमा छु। र अन्तिम लक्ष्य पनि बुबाको सुख हेर्ने हो।

बुबाले सिकाएको शिक्षादीक्षा, इमान्दारिता, कुलको रक्षा नै मेरो मूल मन्त्र हो। भनिन्छ बुवा आफ्नो लागि बाँच्दैनन,आफ्नो लागि कमाउदैनन र आफ्नो खुसी भन्दा ठुलो परिवारको खुशीको लागि आफूले दुःख गर्छन।

भोक प्यास,गर्मी९जाडो, रोग नभनी आफ्नै परिवारको लागि उमेर जीवन दुखमा बिताएर हाम्रो इच्छा आकांक्षा र मनलाई मात्र सर्बपरी ठान्दै परिवारको लागि दुख गर्ने आफ्नो कुनै प्रवाह नगर्ने बुबानै मेरो लागि सबै भन्दा ठूलो ईश्वर हुन।र आजको बुबाको मुख हेर्ने दिनमा हाम्रो लागि दुख गर्ने मेरो बुबालाई भित्री मनदेखि ढोग। बुवा नै मेरो लागि ईश्वर,सुरक्षाकर्मी र मेरो सारा सन्सार हुनुहुन्छ।

हाम्रो लागि बुबाले लगाउनु भएको सघर्षका डोबहरु अझैं पुरिएका छैन। ‘एउटा बुबा सयौ शिक्षकभन्दा महान हुन्छन’ भने जस्तै मेरो पहिलो गुरु भनेको पनि बुबा नै हो। स्वभाव कडा बोल्ने बुबाको बानीले हामीलाई कहिल्यै उपध्रो गर्न सिकाएन।धेरै छोराछोरी भएको हाम्रो परिवार एउटा बुबाको कमाइले पालिन समस्या नै थियो। तर त्यो अभाव कहिल्यै देखानुभएन मेरो बुबाले। शिक्षा दिक्षामा पनि समाजका अन्य परिवार भन्दा कम राख्नु भएन। हाम्रो अभावलाई सधैं पूर्ण बनाउने मेरो बुबा अझैं पनि नयाँ कपडा लगाउन डराउनुहुन्छ। नयाँ चप्पल फेर्न डराउनुहुन्छ। सायद यो डर सन्तानकै रहर पूरा गर्न लागि भएर होला, सधैं मेहनत र संघर्षबाट टाढा रहन सक्नु भएको छैन। अनेक अपजस र अपमान पनि चुपचाप सहेर हामीलाई खुसी दिने मेरो बुबा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हुनुहुन्छ।

बुवा, पिता अनेक शब्द। तर एकै रुपमा हो। रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने मेरो बुबा समाजकै मान्य गन्यमा पर्नुहुन्छ। मेरो बुबा घरको मात्रै नभएर समाजकै अभिभावकमा पर्नुहुन्छ। निडर, प्रखर व्यक्तिको रुपमा रहेर समाजको उन्नति प्रगति चाहने मेरो बुबा सिंगो समाजको मध्यस्तकर्ता भन्दा फरक नपर्ला। आफुजस्तै लगनशिल बनाउने चाहने मेरो बुबाले हामीलाई माया र संरक्षण मात्रै होइन सघर्ष गर्न पनि सिकाउनुभएको छ। मेरो बुबा घरको मात्र होइन, मेरो जीवनको पनि हिरो हो। त्यसैले त बुबाले चुहाएको पसिना हातभरी अञ्जुलीमा लिएर भन्न मन छ बुबा तपाईको पसिना खेर जान दिन्नँ।

बुवाहरूको चर्किएको घाउमा मलम लाउन पाएबुवाहरूलाई सदा सदा खुसी र सुखी पाउन पाए हरेक सन्तानको कर्म पनि पूरा हुन्थ्यो होला पक्कैबाहरूको मलिन अनुहारमा प्रकाशले छाउन पाए।

समग्रमा आमा–बाबुप्रति सन्तानबाट सधैं हुनपर्ने सेवा, सत्कार, सद्भाव, आदर–सम्मानको कर्तव्यबोध मातृ र पितृ दर्शन दिँदै आएको छ। बुबा ,यसपटकको कुशे औशीमा कोहि बुवाहरू घरबारबिहिन नहुन। स्वस्थ रहुन। खुसी रहुन। परिवारको साथमा रहुन। सन्तानबाट हेला हैन स्नेह पाउन। सम्पुर्ण बुबाहरूमा अनि बुबाको भुमिका निभाउने सम्पूर्ण आमाहरूमा पनि कुशे औँशीको शुभकामना सहित हार्दिक नमन।

लेखक रेडियो मेलौलीका स्टेसन म्यानेजर हुनुहुन्छ।

Leave A Reply

Your email address will not be published.