बैतडी: दशरथचन्द नगरपालिकाले आजबाट उज्यालो दरशथचन्द नगरपालिका अभियानको स्वीच अन गरेको छ। नगरपालिका भित्रका मुख्य बजार, सार्वजनिक स्थान तथा मन्दिरहरुमा बत्ती बाल्ने अभियानको सुभारम्भ गरिएको हो। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा आज दशरथचन्द नगरपालिकाले गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ वटा बल्भहरु जडान गरि नियमित बत्ती बाल्ने अभियान सुरु गरेको हो।
विस्तारै देहिमाण्डौँ, मुस्याचौर, जुलाघाट लगायतका बजार र सार्वजनिक स्थानहरुमा बत्ती बाल्ने योजना रहेको नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाइ) ले बताउनुभयो। उहाँले भन्नुभयो, ‘दशरथचन्द नगरपालिकाको नीति र कार्यक्रम अनुसार अभियान सुरु गरिएको र उक्त अभियानले नगरपालिका भित्रका सबै सार्वजनिक स्थानहरुलाई समेट्ने छ।’
विद्युत लाइन रहेको ठाउँमा राष्ट्रय प्रशारण लाईन र नपुगेका सार्वजनिक स्थानहरुमा सौर्य बत्ती जडान गरिने उहाँले बताउनुभयो। बत्तीले बजार तथा सार्वजनिक स्थानहरुको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
नगरप्रमुख जोशीले विद्युत प्राधिकरणमा राखिएको स्वीच अन गरि कार्यक्रमको सुभारम्भ गरेका थिए। उक्त स्वीचले गोठलापानी बजारमा रहेका बत्ती बल्नेछन् भने गढी र शाहीलेकका लागि अलग–अलग स्वीचहरु राखिएका छन्।