यस बर्षको गौरा: भदौ १२ गते बिरुडापञ्चमी, १५ गते अठ्यावाली

बैतडी: सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा यो बर्ष भदौ १२ गतेदेखि शुरु हुने भएको छ। भदौ १२ गते बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको शुरुवात गरिने छ। बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ।

गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ। बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ। कतिपय ठाउँमा बिरुडा मिसाएर मात्रै नभिजाइकन पनि राख्ने चलन रही आएको छ।

भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको छ। शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ। कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ।

गौरामा ब्रतालु महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो लगाउने प्रचलन रहेको छ। विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन्। नयाँ दुबधागो लगाउनेहरुका लागि पनि शुक्ल पक्षमा परेको गौरालाई शुभ मान्ने गरिएको स्थानीय संस्कृतिका जानकार बताउछन।

गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ। यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ। बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ।

अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ। धानखेतबाट साँवा, अपामार्ग लगायतका वनस्पतीहरु ल्याएर गौराको प्रतिमूर्ती बनाउने प्रचलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली ह । यो बर्ष भदौ १५ गते अठ्यावाली परेको छ। अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन्।

गौरामा गाइने फाग र सगुन गाउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको छ। अठ्यावालीका दिन दिनभरी गौरा देवीको पूजाआजा गरेर ब्रतालु महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन्।

गौरा माताको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान,छोराछोरी, आफन्तजनहरुको टाउको पुज्ने चलन रही आएको छ। लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको छ। गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ।

गाउँघरमा यो बर्षको गौरा पर्वको रौनक शुरु भइसकेको छ। विभिन्न कामको सिलसिलामा घर बाहिर रहेकाहरु पनि घर फर्कने क्रम बढेको छ। परदेशीहरु पनि गौराका लागि घर फर्कन थालेका छन्।

Leave A Reply

Your email address will not be published.