बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ को नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ। नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि नयाँ भवनबाटै सेवा दिन शुरु गरिएको वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो।
भवनको औपचारिक उद्दघाटन भने यही भदौ १६ गते गर्ने तयारी रहेको वडा अध्यक्ष भट्टले बताउनुभयो। उक्त भवनको उद्दघाटनका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी आउने कार्यक्रम तय भएको बताइएको छ।
वडा भवन निर्माणका लागि १ करोड १३ लाख विनियोजन भएकोमा ठेक्कामार्फत समैजी कन्सट्रक्सनले ७१ लाख रुपैयाँ भवन निर्माण कार्य सम्पन्न गरेको वडा अध्यक्ष भट्टले बताउनुभयो। यसअघि घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएकोमा अब आफ्नै भवनबाट सेवा सुचारु भएको डिलाशैनी गाउँपालिका वडा नं ५ को कार्यालयले जनाएको छ। वडा भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा समेत सहजता आएको वडा अध्यक्ष भट्टले बताउनुभयो। उनले भने, ‘यसअघि भाडाको घरमा वडा कार्यालय सञ्चालन गरिरहेका थियौं। अब आफ्नै भवनबाट सेवा प्रवाह गर्न पाउँदा सहज भएको छ। आर्थिक भार समेत कटौती भएको छ।’
डिलाशैनी गाउँपालिकाको वडा नं १ र २ मा पनि वडा कार्यालयका नयाँ भवन निर्माण भइसकेका छन्। यस्तै गाउँपालिकाको पनि नयाँ प्रशासकीय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको प्रवक्ता भट्टले बताए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि संघीय समपूरकको १ करोड २२ लाख र यसमा पालिकाकातर्फबाट थप ३० प्रतिशत विनियोजन गरिएको उनले बताउनुभयो।
वडा नं ५ को भवन उद्दघाटन कार्यक्रममा सरोकारवाला सबैलाई आमन्त्रण गरिएको वडा अध्यक्ष भट्टले बताउनुभयो।