झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडी बढ्छ: मन्त्री भण्डारी
लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ।
बैतडी-उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडी बढ्ने तयारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“एकीकृत महाकाली सन्धी,पञ्चेश्वर परियोजनाका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धीलाई कार्यान्यन गरेर अगाडी बढ्नेछौं । जसका लागि भारतकोे पनि सहमती आवश्यक पर्दछ।”
यस्तै मन्त्री भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ।
आइतबार गृह जिल्ला बैतडीको मेलौलीमा गौरा पर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति रहेको बताउनुभएको हो ।
नेपाल संग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कुटनीतिक रुपमा कुरा भइरहेको छ ।
उहाँले भन्नुभयो,“ नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति छ । यो विषयमा चीन भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।”
चीन भ्रमण पश्चात प्रधानमन्त्रीज्यूको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताउनुभयो ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह,महाकाली करिडोर लगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
यसका साथै उहाँले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो,“ बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भएपनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने,स्थानीयबीचको विवाद लगायतले समस्या देखिएको छ ।यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ। ”