बैतडी-बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा भोली गौरा मेला लाग्ने भएको छ ।भोली लाग्ने गौरा मेलाको दिनलाई स्थानीय भाषमा “खलो छोएको” भनिन्छ ।
गौरापर्वको मुख्य दिन आइतबार दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइएको छ । गौराघरमा भित्रयाएको गौरालाई ब्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ ।
ब्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् ।
त्यस्तै यस पर्बमा अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । सुदुपश्चिमेलीहरुले धुमधामका साथ मनाईने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा ठाडोखेल, ढुस्को धमारी,देउडा, चैत, धमारी लगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेलेर आनन्द लिन्छन् ।
गौरा पर्ब सुदुरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो।गौरा पर्व विशेष गरेर बैतडी लगाएत डडेल्धुरा,डोटी बझाङ ,बाजुरा ,अछाम, दार्चुला, कैलाली, कंचनपुरमा र कुमाउँमा, परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो।गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न देउडा तथा प्राचिन त्यस संग सम्बन्धित कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार महेन्द्र सिंह नायकले बताउनुभयो ।
सुदूरपश्चिमेलीहरूले दशैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् ।त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
यसैबीच, गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।