बैतडीमा ३० हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन्। गत बर्षको तुलनामा यो बर्ष स्वास्थ्य बीमामा आवद्ध हुने परिवारको संख्या बढेको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयका संयोजक जमनसिंह बडालले बताउनुभयो।
बैतडीमा स्वास्थ्य बीमामा ३० हजार १ सय ७३ परिवारका ६१ हजार नागरिक आवद्ध भएका बडालले बताउनुभयो। जेष्ठ नागरिक, क वर्गको अपांगा भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको बडालले जानकारी दिनुभयो।
यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने गरेको बडालले बताउनुभयो। स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेको बडालले बताउनुभयो।
स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन्। बैतडीको हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्यचौकी मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन्। यी संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको संयोजक बडालले बताउनुभयो।
गरिब नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो। एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बडालले बताउनुभयो।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बैतडीका १० ओटै स्थानीय तहमा संयोजन समिति गठन गरिएको बडालले बताउनुभयो। यो बर्षदेखि बीमा कार्यक्रमले कडा खालका रोगमा थप एक लाख रुपैयाँको उपचार सुविधा दिएको बताइएको छ।