नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि शुरू हुँदैछ। ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुने महाधिवेशनको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत हुने भएको छ । नेता थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराउनुभएको थियो।

विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ । पर्सिसम्म चल्ने महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार तीन सय ४१ जनाको सहभागी हुनेछन्।

स्थायी कमिटी सदस्य कर्ण थापाले दर्ता गराउनुभएको फरक दस्तावेजमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नै नदिने निर्णयलगायत पाँच बुँदामा असहमति राखिएको छ। फरक दस्तावेजमा पार्टीमा रहेको लोकतान्त्रीकरण कार्यान्वयनमा जोडसँगै एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने र ७० वर्षे उमेर हद कायम हुनुपर्ने उल्लेख छ । अहिले एमालेले यी दुवै प्रावधान नराखी विधान संशोधन प्रस्ताव अघि बढाएको छ।

हिजोको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नदिने निर्णय पुनर्विचार गर्न माग गरेका थिए । तर अध्यक्ष ओलीले निर्णय पुनर्विचार नहुने अडान लिनुभएको छ।

Leave A Reply

Your email address will not be published.